नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको अपेक्षित आगमन हुन नसकेको बताएका छन्।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डद्वारा आयोजित सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै जोशीले भने, “हाल पूर्वाधारको कमीले लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकेका छैनौं। तर देशभर सडकलगायत पूर्वाधार विस्तार भैरहेको छ, त्यसैले आगामी दुई वर्षमा पर्यटक संख्या बढ्ने अपेक्षा गर्न सकिन्छ।” उनले सम्बन्धित निकायलाई पूर्वाधार विकासमा सक्रिय र जिम्मेवार हुन आग्रह गरे।
उनले पर्यटक लक्षित सेवामा गुणस्तर कायम राख्नुपर्ने सुझाव पनि दिए।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले सवारी चालक तथा सहचालकहरू आफैँ जिम्मेवार भएर नियम पालना गर्नुपर्नेमा जोड दिए। “ट्राफिक नियम केवल नियम पालनाका लागि होइन, चालक र यात्रुको सुरक्षाका लागि हो,” उनले भने।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बास्तोलाले प्रशिक्षित चालक र सहचालकले मात्र पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन सक्ने बताए। “यो प्रशिक्षणले व्यवहारिक र सैद्धान्तिक ज्ञान दिई चालकहरूलाई थप सक्षम बनाउनेछ,” उनले भने।
दुई दिन सञ्चालन हुने उक्त कार्यक्रममा ९२ जना पर्यटक सवारी चालक तथा सहचालकको सहभागिता रहेको छ।
