कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारले जग्गा सट्टापट्टा मिलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन्। उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
सट्टापट्टाका लागि आवाज उठाउँदै प्रतिनिधिमण्डलमा सहभागी ९५ वर्षीया कमलकुमारी पोखरेललगायतले ४८ वर्षअघि सरकारले दिएको भद्र सहमति स्मरण गराउँदै जग्गा उपलब्ध गराउन माग गरेका हुन्।
२०७९ साल फागुन ६ गते गठित कोशीटप्पु आरक्ष विस्थापित समस्या समाधान उच्चस्तरीय आयोगले सट्टापट्टाबाट वञ्चित ७५ परिवारलाई मोरङको लेटाङ नगरपालिका क्षेत्रमा जग्गा दिने सिफारिस गरिसकेको छ। आयोगका तत्कालीन सदस्य मनोहर नारायण श्रेष्ठले उक्त सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
सर्वोच्च अदालतले पनि २०४६ साल वैशाख ५ गतेको फैसलामार्फत विस्थापितलाई सट्टा जग्गा दिन आदेश गरिसकेको स्मरण गराउँदै उक्त निर्णय पालना गर्न माग गरिएको हो।
ज्ञापनपत्र बुझेसँगै प्रधानमन्त्री ओलीले प्रमुख सचिव एकनारायण अर्याललाई समस्या अध्ययन गरी १५ दिनभित्र समाधानका लागि उपयुक्त सुझावसहित प्रतिवेदन पेस गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ
