नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीय प्रहरीसम्बन्धी विधेयक अघि नबढ्नुको दोष सरकारलाई लगाएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले सरकारलाई गम्भीर भएर अघि बढ्न आग्रह गरे।
पाण्डेले भने, “सरकारकै कारण विधेयक छिटो अघि बढ्न सकेको छैन। यसप्रति समितिको सभापतिको ध्यान पनि पुगेको देखिँदैन, त्यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु।”
उनले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीसम्बन्धी विधेयकलाई पनि समसामयिक रूपमा छलफलमा ल्याएको भए अझ प्रभावकारी हुने धारणा राखे। साथै, प्रस्तावित विधेयकले प्रदेश तथा स्थानीय तहका नगर प्रहरी बलहरूलाई समेत समेट्नुपर्ने आवश्यकता औँल्याए।
हालको डिजिटल युगलाई ध्यानमा राखेर विधेयक निर्माण गरिनु आवश्यक रहेको बताउँदै उनले भने, “प्रदेशले आ–आफ्ना प्रहरी विधेयक बनाइसकेका छन्, तर संघीय तहमा अझै ठोस पहल भएको छैन। अब कार्यतालिका बनाएर अघि बढ्न जरुरी छ।”
