मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशको शिक्षा अवस्था गम्भीर रहेको भन्दै गुणस्तरीय सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन्।
जनकपुरधाममा आज प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा उनले संघीय सरकारले शिक्षा सेवामा सक्रिय भूमिका लिनुपर्नेमा जोड दिए। साथै, शिक्षकहरू जनताप्रति उत्तरदायी, समर्पित र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा शिक्षामन्त्री रानीकुमारी शर्मा तिवारीले शिक्षकहरूलाई राजनीति त्यागेर आफ्नो पेसामा निष्ठापूर्वक लाग्न आग्रह गरिन्। भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवले शिक्षक र अभिभावक दुवैको जिम्मेवारीले शिक्षा क्षेत्रमा पछाडि पारेको उल्लेख गरे।
श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले शिक्षा सुधारका लागि प्रदेश सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै तीनै तहका सरकारहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।
सम्मेलनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुर, राप्रपाका नेता तथा प्रदेशसभा सदस्य कञ्चन विच्छालगायत वक्ताहरूले विचार राखेका थिए।
कार्यक्रममा प्रदेशभरिका प्रधानाध्यापक, प्राचार्य, शिक्षा अधिकारी, निर्देशक, विज्ञ तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सम्मेलनमा पाँचवटा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो।
