×

शिक्षक खेलाडीको गोलमा अकल्याण्ड सिटीले बोका जुनियर्ससँग बराबरी गर्दै ऐतिहासिक क्षण रचे

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

१० असार, काठमाडौं — अमेरिका आयोजित फिफा क्लब विश्वकप फुटबलअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा न्यूजिल्याण्डको अकल्याण्ड सिटी र अर्जेन्टिनाको प्रतिष्ठित टोली बोका जुनियर्सबीचको भिडन्त १-१ को बराबरीमा टुंगिएको छ।

खेलको पहिलो हाफमा गोल खाएर पछि परेको अकल्याण्ड सिटीका लागि दोस्रो हाफमा बराबरी गोल फिर्ता गर्दै इतिहास बनाएका थिए क्रिस्टियन ग्रे — जो पेशाले एक विद्यालयमा शारीरिक शिक्षाका शिक्षक हुन्।

शिक्षक ग्रेले अर्जेन्टिनी पावरहाउस टोलीविरुद्ध गोल गर्दा अकल्याण्डका समर्थकहरूले गर्वको अनुभूति गरेका छन्। यो गोल अकल्याण्ड सिटीको प्रतियोगिताको एकमात्र गोल हो, जुन टोलीको लागि सबैभन्दा स्मरणीय क्षण बन्न पुग्यो।

यसअघि जर्मनीको बायर्न म्युनिखसँग १०-० र पोर्चुगलको बेन्फिकासँग ६-० को हार व्यहोरेको अकल्याण्ड सिटीले प्रतियोगिताबाट बाहिरिए पनि बोका जुनियर्ससँगको बराबरीले टोलीलाई सान्त्वना दिएको छ।

२८ वर्षीय ग्रेले मिडियासँग भने, “म सानो सहरबाट आएको सामान्य मान्छे हुँ। यहाँ खेल्ने सपना थियो, जुन आज पूरा भयो।” अकल्याण्ड सिटीको टोली पूर्णतया पेशेवर नभई शिक्षक, प्राविधिक र डेलिभरी कर्मचारीहरूसहितको समूह हो, जसले फुटबलप्रतिको मोहले क्लबलाई अन्तर्राष्ट्रिय मञ्चसम्म ल्याएको हो।

समूह चरणको अन्त्यमा अकल्याण्डले जम्मा १ अंक जोड्न सकेको भए पनि प्रशिक्षक पल पोसाले त्यसलाई ठूलो उपलब्धि माने। “हामीले सामना गरेका चुनौतीहरू वर्णन गर्न गाह्रो छ, तर यो अंक हाम्रो संघर्षको मूल्यांकन हो,” उनले भने।

ग्रेका लागि यो प्रतियोगिता विगत चार वर्षको मेहनतको अन्तिम उपलब्धि जस्तै भएको छ। “नतिजा निराशाजनक थिए, तर अन्त्यमा यो बराबरीले सारा मिहिनेतलाई सार्थक बनायो,” उनले प्रतिक्रिया दिए।

अब क्रिस्टियन ग्रे पुनः आफ्नै विद्यालय फर्किनेछन्, जहाँ उनलाई विद्यार्थीका असाइनमेन्ट जाँच्ने जिम्मेवारी पर्खिरहेको छ। फुटबल मैदानमा चम्किएर फर्किने यो यात्रा सायद विश्व फुटबलकै सबैभन्दा प्रेरणादायी ‘सामान्य जीवन’ मा फर्किएको कथा बन्नेछ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x