सत्तारूढ नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनको तयारीका लागि बुधबार सचिवालय बैठक आह्वान गरेको छ। पार्टीको ५३औँ सचिवालय बैठक आज दिउँसो १ बजे च्यासलस्थित मुख्यालयमा बस्नेछ।
बैठकमा विधान महाधिवेशनसम्बन्धी प्रस्तावहरूबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा विधान संशोधन, राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पार्ने विषयमा विस्तृत छलफल हुनेछ। सचिवालयले स्वयं प्रस्ताव तयार गर्न वा समितिमार्फत अघि बढाउने विकल्पहरूबारे निर्णय गर्न सक्नेछ।
गत माघ ८ गते बसेको सचिवालयको ४२औँ बैठकले विधान महाधिवेशन आगामी भदौ २०–२२ मा ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरिसकेको छ। विधानअनुसार महाधिवेशनअघि एक महिना भित्रै प्रस्तावहरू प्रदेश र जिल्ला कमिटीमा सुझावका लागि पठाइसक्नुपर्नेछ।
चितवनमा सम्पन्न १०औँ महाधिवेशनका प्रतिनिधिहरू नै आगामी विधान महाधिवेशनमा सहभागी हुनेछन्। यसपटक पार्टीमा ७० वर्षे उमेरहद कायम गर्ने कि खारेज गर्ने भन्नेबारे आन्तरिक बहस जारी छ। साथै, कार्यकारी भूमिकामा दुई कार्यकालको सीमा राख्ने प्रस्ताव पनि चर्चामा रहेको छ।
पहिलो विधान महाधिवेशनपछि मात्र ७० वर्षे उमेरहदको प्रावधान कायम गरिएको थियो, तर कार्यकाल सीमाको व्यवस्था थिएन। केही नेताहरूले उमेरहदको प्रावधान हटाएर जिम्मेवारी बाँडफाँट गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। एमालेले आगामी फागुनभित्र ११औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारीसमेत गरिरहेको छ।

