अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय आयोजना अन्तर्गत तीन करोड रुपैयाँभन्दा कम रकम विनियोजन हुनुका चार प्रमुख कारण रहेको स्पष्ट पारेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिंदै उनले यी कारणहरू प्रस्तुत गरेका हुन्।
उनका अनुसार पहिलो कारण, अघिल्लो वर्षबाट निरन्तर रहेका क्रमागत आयोजनाहरूमा भुक्तानीका लागि मात्र बजेट विनियोजन गरिएको अवस्थामा तीन करोडभन्दा कम रकम परेको हुनसक्छ।
दोस्रो, संघीय सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने कतिपय साना आयोजना तथा कार्यक्रमहरूमा लागत नै कम हुने भएकाले त्यहाँ न्यून विनियोजन गरिएको हो।
तेस्रो, विपद् व्यवस्थापनपछिको पुनर्निर्माणमा लाग्ने खर्च तीन करोडभन्दा कम परेमा त्यसैअनुसार रकम छुट्याइएको अर्थमन्त्री पौडेलले उल्लेख गरे।
चौथो, चालु आर्थिक वर्षको बजेट नीतिअनुसार संघीय आयोजनामा न्यूनतम तीन करोड रुपैयाँभन्दा कम नहुने नीति लिइए पनि माथि उल्लिखित अवस्थामा भने त्यो नीतिको अपवाद लागू गरिएको उनको स्पष्टोक्ति छ।
पौडेलले नीति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको पनि दोहोर्याए।
