नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरेलु श्रमिकहरूको हकहितका मुद्दा प्रतिनिधि सभामा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता जनाएका छन्।
मंगलबार युवालयद्वारा आयोजित बेतलबी र घरेलु श्रमिकसम्बन्धी एक कार्यक्रममा बोल्दै, उनले प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा श्रमिकको अधिकारलाई संसदमा प्रमुख एजेन्डा बनाउने बताए।
उनले संविधानमा सबै उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्ने समावेशी सिद्धान्त र मौलिक अधिकारहरू जस्तै शिक्षा, स्वास्थ्य, र रोजगारीका विषय समावेश गरिएको भए पनि कार्यान्वयन पक्ष अझै कमजोर रहेको उल्लेख गरे।
‘समयमै आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदा संविधानमा उल्लेखित श्रमिकका अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्,’ प्रचण्डले स्पष्ट पारे।
घरेलु र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सम्मानसाथ पेशागत सुरक्षा दिने कुरामा आफू गम्भीर रहेको उनले बताए। साथै, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुका साथै सामाजिक सुरक्षा कोषमा यस्ता श्रमिकलाई समेट्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार आफ्नो नेतृत्वमा वैदेशिक रोजगारमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया सुरु भएको थियो, जसअन्तर्गत हालसम्म २३ लाख नेपाली श्रमिक आवद्ध भइसकेका छन्।
प्रचण्डले स्थानीय तहहरूले पनि घरेलु श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनेतर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे। उनले घरेलु कामलाई केवल सेवा मात्र नभई सम्मान र उचित मूल्यका आधारमा हेर्नुपर्ने बताए।
