प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी छ। समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालन र बजेट पारित प्रक्रिया लगायतका विषयमा छलफल गर्न केही बेरअघि बैठक सुरु गरिएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी सहभागी छन्। साथै, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत नेताहरूको उपस्थिति रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बजेट, सरकार सञ्चालन र वर्तमान राजनीतिक परिस्थतिका विविध पक्षमा छलफल भइरहेको छ।
यता, संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। साथै, उनले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि छलफलका लागि प्रस्ताव पनि अघि सार्नेछन्।
त्यसअघि संसदमा श्रम, गृह, सञ्चार, अर्थ, सहरी विकास मन्त्रालय लगायत प्रमुख कार्यालयहरूको शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।
साथै, सांसदहरू अमरेश कुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, जनार्दन शर्मा, रेखा शर्मा, चित्रबहादुर केसी, हितराज पाण्डेलगायतले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा समावेश छन्।
यसअघि नै सत्तापक्षले पूर्वतयारी स्वरूप छलफल सुरु गरेको हो।
