भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले गठन गरेको समितिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ। सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो।
समिति गठनलाई स्वागत गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो कदम सकारात्मक भएको बताए। उनले भने, “छानबिन समिति हाम्रो माग अनुरूप बनेको हो। तर यसको कार्यदायरा (टिओआर) के छ भन्ने हेरेर थप प्रतिक्रिया दिनेछौँ।”
यसअघि माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै रास्वपा र नेकपा एकीकृत समाजवादीसँग मिलेर १८ दिनसम्म संसद अवरुद्ध गरेको थियो। सत्तापक्षसँग जेठ ३० गते दुई बुँदे सहमति भएपछि अवरोध हटाइएको हो।
त्यस्तै, संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने सन्दर्भमा माओवादी सांसदहरूलाई ह्विप भने जारी नगरिएको जानकारी पाइएको छ।

