लोकप्रिय गायक दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ ले युट्युबमा १० करोड भ्युज पार गरेको छ। पाँच महिनाको छोटो अवधिमै यस्तो उपलब्धि हासिल गरेपछि नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गेशलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
ओलीले आइतबार बेलुकी फेसबुकमा दुर्गेशको तस्बिरसहित एक पोस्ट गर्दै लेखेका छन्, “नयाँ पुस्ताले फरक स्वादका गीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर्यै जस्ता गीतहरूको भ्युजबाट पुष्टि हुन्छ। पाँच महिनामा १० करोड पटक हेरिएको यस गीतका सर्जक दुर्गेश थापालाई हार्दिक बधाई।”
प्रधानमन्त्रीको सन्देशले गायक दुर्गेश थापा भावुक बनेका छन्। उनले ओलीको पोस्टलाई सेयर गर्दै धन्यवाद व्यक्त गरेका छन्। दुर्गेशले लेखेका छन्, “देशकै सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूबाट यस्तो चासो र शुभकामना पाउनु मेरो सिर्जनात्मक यात्राका लागि ऐतिहासिक प्रेरणा हो। उहाँको शब्दहरूले नयाँ सोच, ऊर्जा र आशा बोकेको सन्देश दिएको छ।”
‘दुश्मन हेरेको हेर्यै’ गीत सार्वजनिक भएदेखि नै भाइरल बनिरहेको छ। थुप्रै ट्रेन्डिङमा आएको यस गीतले युवा पुस्ताबीच विशेष लोकप्रियता पाएको हो। अहिले दुर्गेश देश र विदेशमा आयोजित थुप्रै सांगीतिक कार्यक्रमहरूमा व्यस्त छन्।

