राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीमा राज्यकै संरक्षकको संलग्नता रहेको गम्भीर आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले मानव तस्करहरूलाई राज्यबाटै संरक्षण मिलिरहेको दाबी गरे। सांसद नेपालीले भने, “सरकार फेरिन्छ, मन्त्री फेरिन्छन् तर मानव तस्करहरू कहिल्यै कारबाहीमा पर्दैनन्। के जनताको पक्षमा बोल्नु अपराध हो?”
उनको भनाइमा, भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी केवल कानुनी उल्लंघन मात्र नभई मानवताको गम्भीर अपमान हो। यस्तो आपराधिक गतिविधि राज्य संरचनाभित्रै बसेर सञ्चालन भइरहेको उनले बताए।
उनले सभामुखलाई सम्बोधन गर्दै सोधे, “यस्तो जघन्य अपराधमा दुई ठूला दलको सरकार किन मौन छ? के सरकारको कुनै साँठगाँठ त छैन?”
रास्वपाले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै निरन्तर संसदमा आवाज उठाउँदै आएको छ। पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई दबाब दिइरहेको छ।

