रामेछाप, असार ८ –
रामेछाप जिल्लाको मन्थली नगरपालिकामा तामाकोशी नदीमाथि निर्माण भइरहेको एक पुल अचानक भाँचिएको छ। मन्थली नगरपालिका–६ कुनाउरी र वडा–७ भटौलीलाई जोड्ने उक्त पुल आइतबार बिहान करिब १० बजेतिर बीच भागबाटै चुँडिएको नगरप्रमुख लब श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार, पुलको बीच भागको स्ल्याब भाँचिएर तल खसेको हो। यद्यपि, पुल निर्माणको क्रममा भएको यो घटनामा कुनै मानवीय क्षति भने नभएको स्पष्ट गरिएको छ।
नगरप्रमुख श्रेष्ठका अनुसार २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुल यस वर्षको साउन महिनामा निर्माण पूरा गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको थियो। वैशाखको अन्त्यतिर पुलको बीच भागमा चिरा देखिएपछि निर्माण कम्पनीले मर्मत गर्न सकिने भनेर त्यसै छोडिएको थियो। तर मर्मतको सट्टा भाँचिएको हो।
पुल निर्माणको जिम्मा कालिका/कल्पवृक्ष जेभी ले लिएको हो। निर्माण कम्पनीले २०७८/७९ मा सडक विभागको पुल महाशाखासँग २०८२ सालको भदौ मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरप्रमुख श्रेष्ठले बताए।
पुल भाँचिएसँगै निर्माण गुणस्तर र प्राविधिक निरीक्षण सम्बन्धी प्रश्न उठेका छन्। थप मूल्यांकनपछि आवश्यक निर्णय लिइने जनाइएको छ।
