राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशम्शेर राणाले तीनकुने घटनालाई राज्यकै योजनाबद्ध गतिविधिको परिणाम भएको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त घटना दुर्गा प्रसाईं वा जनआन्दोलन समितिले होइन, सरकारकै हस्तक्षेप र दमनका कारण भएको दाबी गरे।
राणाका अनुसार आन्दोलनका क्रममा जनतामाथि गरिएको बल प्रयोग, घरमाथिबाट अश्रुग्यास प्रहार र मञ्चमै राष्ट्रगान बजिरहेका बेला अश्रुग्यास हानिनु दुर्भाग्यपूर्ण हो। उनले यस्तो प्रकारको दमन नेपाली राजनीतिमा कमै भएको उल्लेख गरे।
“जनता आफै भड्किएका होइनन्, राज्यले भड्काएर घटना घटायो,” भन्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न सरकार किन हिच्किचाइरहेको छ भन्ने प्रश्न उठाए।
गत साता जिल्ला अदालत काठमाडौँको आदेशपछि ३ लाख धरौटीमा रिहा भएका सांसद राणा प्रतिनिधि सभाको बैठकमा सहभागी भई सो धारणा राखेका हुन्।
उनले तीनकुने घटनालाई गम्भीर रूपमा लिएर सत्य तथ्य पत्ता लगाउने उद्देश्यले छानबिन आवश्यक रहेको दोहो¥याएका छन्।

