नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजधानीका केही क्षेत्रमा देखिएको ट्रिपिङ समस्या (अचानक बत्ती जाने) स्वीकार गरेका छन्।
शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सानेपा, बबरमहल लगायतका क्षेत्रमा वैशाख–जेठ महिनामा ट्रिपिङ समस्या विशेषरूपमा देखिएको भए पनि अहिले त्यहाँ स्थिति सुधार भइसकेको जानकारी दिए।
शाक्यका अनुसार समग्रमा ट्रिपिङको समस्या अघिल्ला वर्षहरूमै पनि थियो, तर हाल नयाँ नेतृत्वप्रति जनचासो र संवेदनशीलता बढेकाले गुनासोहरू बढी आउन थालेका हुन्। उनले गुणस्तरीय विद्युत सेवा दिन फिडर सुधार, लगानी र नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको बताए।
“हामी अब लोडसेडिङको अन्त्य मात्र होइन, गुणस्तरीय विद्युत आपूर्तिमा केन्द्रित छौं,” शाक्यले भने, “भदौदेखि प्रत्येक महिना प्रगति विवरण सार्वजनिक गर्ने तयारीमा छौं।”
उनका अनुसार उद्योग क्षेत्रमा लोडसेडिङ पूर्ण रूपमा हटिसकेको छ भने अन्य क्षेत्रमा पनि नियमित विद्युत आपूर्ति भइरहेको छ।
ऊर्जा सुरक्षाका लागि ब्याट्री स्टोरेज, जलाशययुक्त आयोजना र पम्प स्टोरेज परियोजनामा जोड दिइएको छ। शाक्यले कुलेखानी–सिस्नेरी (१०० मेगावाट) र अर्को ४९० मेगावाटको पम्प स्टोरेज आयोजना लाइसेन्स प्रक्रियामा रहेको जानकारी दिए।
विद्युत निर्यात–आयात सन्तुलन कायम गर्न यस्ता आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। तर, सरकारको लगानी घट्दै गएकाले वैकल्पिक स्रोतबाट वित्त व्यवस्थापन गर्नुपर्ने चुनौती पनि रहेको उनले स्वीकारे।
प्राधिकरणको हाल कागजी नाफा ४६ अर्ब रुपैयाँ रहेको भए पनि ४४ अर्ब रुपैयाँ बक्यौता अझै उठाउन बाँकी छ। यस वर्ष तामाकोशी आयोजना र बंगलादेशलाई निर्यात हुने २४ घण्टे विद्युत बिक्रीबाट आम्दानी थप बढ्ने प्राधिकरणको अपेक्षा छ।
साथै, निजी क्षेत्रसँगको सहकार्यमा प्रसारण लाइन विस्तार गर्नेसहित डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता समस्या समाधानका लागि ४६ उद्योगले निवेदन दिएका छन्, जसको पुनरावलोकन प्रक्रिया अघि बढेको जानकारी शाक्यले दिए।
