राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा वेल घेराउ र नाराबाजी गर्दै आफ्नो विरोध प्रदर्शन गरेको छ।
बैठक सुरू हुनासाथ रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद असिम साहलाई बोल्न अनुमति दिए। सांसद साहले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि निष्पक्ष छानबिनको माग गरे। उनले देशमा ‘लुटको सिन्डिकेट’ जस्तो संरचना बनाइएको आरोपसमेत लगाए।
पछिल्लो वक्तव्यमा राप्रपाका सांसद धवल शमशेर राणाले चैत १५ गते तिनकुनेमा राज्यकै भूमिकाले दुई व्यक्तिको ज्यान गएको र केही निजी घरमा तोडफोड तथा आगजनी भएको दाबी गरे।
राणा बोलिसकेपछि रास्वपाका सांसदहरूले वेल घेर्ने र नाराबाजी गर्ने गतिविधि पुनः शुरू गरे। अहिले प्रतिनिधिसभामा बजेटमाथि छलफल भइरहेको छ।
आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनमाथि छलफल हुँदैछ। साथै, सांसदहरूले पेश गरेका खर्च कटौतीसम्बन्धी प्रस्तावहरू पनि टेबलमा आएका छन्।
यस्तै, सभामुख घिमिरेले संसदका विषयगत समितिमा सदस्यहरूको हेरफेर गरिएको जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि सभामुखद्वारा पढेर सुनाइएको थियो।

