नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न सोमबार (भोलि) ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न लागेको छ। बोलकबोल प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट यो रकम खिचिनेछ।
चालु आर्थिक वर्ष २०८१/८२ को शुरुवातदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको हुँदा राष्ट्र बैंकले निरन्तर मौद्रिक उपकरणमार्फत नियन्त्रण गर्दै आएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलनका लागि अनलाइन बोलकबोल प्रणालीमार्फत प्रतिस्पर्धा गरिनेछ, र ब्याजदर पनि बोलकबोलको आधारमा निर्धारण हुनेछ।
यस प्रक्रियामा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणात्मक अंकसम्म भाग लगाई निक्षेप सङ्कलन गरिनेछ। सोमबारको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। संकलित निक्षेपको सावाँ र ब्याज भुक्तानी २०८२ साल साउन १८ गते हुनेछ।
हाल देशभर कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। तर लगानीको गति भने सुस्त छ। लगानीकर्ताको आत्मविश्वास नबढ्नु र बैंकको कर्जा प्रवाहमा कमी आउनुले यसलाई पुष्टि गरेको राष्ट्र बैंकको विश्लेषण छ।
राष्ट्र बैंकले तरलता सन्तुलनमा ल्याउन रिभर्स रिपो, निक्षेप सङ्कलन, आउटराइट सेल, र बन्ड जस्ता मौद्रिक उपकरणहरूको प्रयोग गर्दै आएको छ। गत साता मात्रै राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ बराबरको रकम प्रणालीबाट खिचेको थियो।

