प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट विनियोजनमा पक्षपात भएको भन्दै कडा आपत्ति जनाएका छन्।
शुक्रबारको संसद बैठकमा बोल्दै सांसद सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वितरण गरेको बजेट क्षेत्रगत रूपमा अत्यन्तै पूर्वाग्रही रहेको आरोप लगाए। उनले बलियो नेताको क्षेत्रमा अर्बौं रुपैयाँको बजेट खन्याइएको तर आफूजस्ता स्वतन्त्र र कम प्रभावशाली सांसदहरूको क्षेत्रमा बजेट नै नपरेको भन्दै असन्तुष्टि जनाए।
उनले प्रश्न गरे, “आज काठमाडौंबाट लुम्बिनी जान सजिलो छ कि जनकपुर? नारायणघाट–बुटवल सडकको ठेक्का वर्षौं अघि लाग्यो तर अझै बस बग्ने अवस्था छ।”
सिंहको धाराप्रवाह आलोचना पछि सभामुख देवराज घिमिरेले विषयवस्तुमा केन्द्रित हुन आग्रह गरे। तर, सिंहले त्यसलाई अस्वीकार गर्दै भने, “सडकको कुरा नगरी आकाश र धर्तीको कुरा गरौँ भने के संसदमा हामी तमासा देख्न आएका हौं?”
उनले आफ्नै क्षेत्रमा दशकौँदेखि दुई वटा पुल निर्माणको माग उठिरहेको तर हालसम्म बजेट नपरेको गुनासो गर्दै, “सबल नेताहरूको क्षेत्रमा विकासको वर्षा, तर हामी बोल्न नपाउने सांसदको क्षेत्र बञ्चित। यो समानुपातिक होइन, यही हो विनियोजन?” भनेर प्रश्न उठाए।
त्यसैगरी, उनले प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल दुबै झापाबाट भएको भन्दै झापामा बढी बजेट परेको र अन्य जिल्लामा उपेक्षा भएको आरोप लगाए।
“झापामा कति बजेट परेको छ? प्रधानमन्त्री र मन्त्री भएकै कारण हो त? हामीले बजेटको किताब पढेर आएका छौं,” सिंहले भने, “आजको वर्षायाममा देशभर सडक अस्तव्यस्त छ, तर बजेटले त्यो सम्बोधन गरेको छैन।”
उनले बजेट विनियोजन पहुँचको आधारमा हुने परिपाटी अन्त्य हुनुपर्ने भन्दै संसद्मै विरोध दर्ज गरेका हुन्।
