देशभर सक्रिय बनेको मनसुनका कारण लगातारको वर्षाले पहिरो र बाढी निम्त्याउँदा विभिन्न स्थानका मुख्य सडकहरु अवरुद्ध भएका छन्।
गृह मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार, पाँच प्रदेशका विभिन्न जिल्लामा कम्तीमा १३ वटा प्रमुख सडक खण्डमा यातायात प्रभावित भएको छ। कतिपय सडक पूर्णरूपमा बन्द छन् भने केही स्थानमा सवारी एकतर्फी मात्रै चल्न सकेको छ, जसले यात्रुहरूलाई कठिनाइ पुर्याएको छ।
अरनिको राजमार्ग, महेन्द्र राजमार्ग, कालीगण्डकी कोरिडोर, राप्ती राजमार्ग तथा दाङ–सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका सडकहरूमा परेका छन्।
अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायहरू सक्रिय छन् भने नेपाल प्रहरीले यात्रुहरूलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र हिँड्न आग्रह गरेको छ।
यसैबीच, सुरक्षा तथा उद्धार टोलीहरूले पहिरो पन्छाउने र सडक सुचारु गर्ने कार्यमा जुटिरहेको जनाइएको छ।

