शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो।
यसअनुसार, शुक्रबार छापावाल सुनको मूल्य १ तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँमा निर्धारण गरिएको छ। चाँदीको मूल्य पनि घटेर प्रतितोला २ हजार १५० रुपैयाँमा झरेको छ।
बिहीबारको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको हो। अघिल्लो दिन सुन १ लाख ९५ हजार ५०० रुपैयाँ र चाँदी २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यता, सुनमा लाग्ने भनिएको विलासिता करबारे पनि महासंघले स्पष्टिकरण दिएको छ। महासंघका अनुसार, उक्त कर आगामी साउन १ गतेदेखि मात्रै लागू हुनेछ।
“असार ५ गते आन्तरिक राजस्व विभागका उच्च अधिकारीहरूसँग भएको छलफलमा साउन १ गतेभन्दा पहिले विलासिता कर लागू नहुने स्पष्ट जानकारी प्राप्त भएको छ,” महासंघले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले यो करप्रति आपत्ति जनाउँदै खारेजको माग गर्दै आएको छ। साथै, सम्बन्धित निकायहरूसँग यस विषयमा संवाद र कूटनीतिक प्रयासहरू जारी रहेको पनि महासंघले जानकारी दिएको छ।

