प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन प्रमुख दलका नेताहरू आज शुक्रबार छलफलमा बस्दैछन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, छलफलका लागि तीनै नेताहरू दिउँसो २ बजे सिंहदरबारमा जुट्ने कार्यक्रम तय भएको हो।
हाल प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकविरुद्ध छानबिनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर बहिष्कार गर्दै आएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वेल घेर्ने, नाराबाजी गर्नेजस्ता गतिविधिहरू जारी राखेको छ।
विपक्षी दलहरूको अवरोधका बाबजुद संसद बैठक भने सञ्चालनमा रहेको छ र बजेटमाथिको छलफल अघि बढिरहेको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूको जिज्ञासाको जवाफ दिने कार्यक्रमसमेत छ।
यिनै विषयमा थप सहमति र समाधान खोज्नका लागि तीन प्रमुख दलबीच उच्चस्तरीय बैठक हुन लागेको हो। बिहीबार पनि यस्तो बैठक बस्ने तयारी गरिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

