नेकपा (माओवादी केन्द्र) की सांसद तथा पूर्वमन्त्री रेखा शर्माले नेकपा एमालेले संसद् सुचारु गर्न नचाहेको आरोप लगाएकी छन्।
बुधबार नेपाल प्रेस सेन्टर प्रतिष्ठान प्रदेशको दोस्रो पूर्ण बैठक उद्घाटन गर्दै उनले एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधलाई बहानाबाजीको रूपमा प्रयोग गरेको बताइन्। शर्माका अनुसार रास्वपाको नाराबाजीका बीच संसद् अघि बढाउने एमालेले निजामती सेवा विधेयक छलफलमा रहेको दिन भने अनायासै बैठक रोकिएको घटनाले एमालेकै नियत प्रस्टिएको हो।
उनले भनिन्, ‘कुलिङ पिरियडसहितको विधेयक समितिबाट पारित भइसकेको छ, सभापतिको अडान पनि अडिग छ। तर प्रधानमन्त्री केपी शर्मा ओली नै कुलिङ पिरियडको पक्षमा देखिँदैनन्।’
शर्माले संसद्को काममा अनावश्यक हस्तक्षेप गरेर सरकारले विधेयक फिर्ता लिने तयारी गरिरहेको आशंका पनि व्यक्त गरिन्।
उनको भनाइमा, “समितिबाट पास भइसकेको विधेयकमाथि मन्त्रिपरिषद्मा फेरि छलफल हुनु आफैँमा संकास्पद छ।”
सांसद शर्माले माओवादी केन्द्रमाथि दोष थोपरेर संघीयता कार्यान्वयनमा ढिलाइ गर्ने सरकारको बहानाको पनि अन्त्य भएको स्पष्ट पारिन्। साथै, शिक्षा विधेयक पारित नहुनुको दोष पनि अब माओवादीतिर सोझ्याउने ठाउँ नरहेको उल्लेख गरिन्।

