नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको भ्रमण सकेर बिहीबार मात्रै काठमाडौँ फर्किने भएका छन्। उनी भरतपुर महानगरपालिकाले निर्माण गरेको ‘प्रज्ञा स्मार्ट पार्क’को अवलोकनका साथै विभिन्न कार्यक्रममा सहभागी हुन सोमबारदेखि चितवनमा छन्।
प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यका अनुसार अध्यक्ष दाहाल बुधबार फर्किने कुनै कार्यक्रम छैन। उनका अनुसार प्रचण्ड बिहीबार काठमाडौँ फर्किएपछि समसामयिक राजनीतिक मुद्दाहरूमा तीन प्रमुख दलबीच बैठक बस्ने तयारी छ।
‘अध्यक्ष भोलि (बिहीबार) फर्किएपछि दिउँसो ३ बजे प्रमुख तीन दलबीच बैठक हुने भनिएको छ,’ आचार्यले जानकारी दिए।
यसअघि दुई बुँदे सहमति गर्दै माओवादी केन्द्रले संसद अवरोध हटाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी जारी राखेकाले शिक्षा, निजामतीलगायतका विधेयकमा असर पर्ने सम्भावना देखिएको छ। प्रचण्डको काठमाडौँ फर्किएपछि विधेयकहरू अगाडि बढाउने विषयमा निर्णायक छलफल हुने अपेक्षा गरिएको छ।

