वैदेशिक रोजगारीको सपना देखेर ठगीमा परेका नेपालीहरू दिनप्रतिदिन बढिरहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा यस्ता पीडितहरू दैनिकजसो पुग्ने गरेका छन्। कोही दस्तावेजसहित आउँछन् भने कोही आफ्ना पीडादायक अनुभव लिएर मात्र।
कतिपय युरोप वा अमेरिका लैजाने लोभ देखाएर ठगिन्छन् भने केहीलाई दलालहरूले आधा बाटोमै अलपत्र पारिदिन्छन्। वैदेशिक रोजगारीका लागि पैसा बुझाएको उजुरीमा सामान्यतः श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले अनुसन्धान गर्छ। तर ठगहरू प्रायः प्रमाणविहीन रूपमा पैसा लिने भएकाले अनुसन्धानमा कठिनाइ हुने गरेको छ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पछिल्ला १० महिनामा मात्र पाँच सयभन्दा बढी पीडितले उजुरी दिएका छन्। युरोप, अमेरिका जस्ता मुलुकमा लैजाने बहानामा ठगिनेको बिगो निकै ठूलो हुने गरेको उनले बताए।
वैदेशिक रोजगार विभागमा यस्तै प्रकृतिका साढे ११०० भन्दा बढी उजुरी दर्ता भइसकेका छन्। अझै उजुरी दर्ता गर्न नसकेका पीडितहरू प्रहरीकहाँ पुग्ने गरेका छन्। ठगिएकामध्ये कतिपयलाई दलालहरूले धम्की दिएर पनि उजुरी दिनबाट रोक्ने प्रयास गर्ने गरेका छन्।
एसपी आचार्यका अनुसार पछिल्ला १० महिनामा विभाग र प्रहरी कार्यालयमा दर्ता भएका उजुरीहरूमार्फत झण्डै १ अर्ब रुपैयाँभन्दा बढीको ठगी भएको देखिन्छ। विभागमा ६५ करोड र अपराध अनुसन्धान कार्यालयमा ४० करोडभन्दा बढी बिगो दाबी गरिएको छ।
न्युजिल्याण्ड, पोर्चुगल, माल्टा, क्रोएसिया जस्ता देशमा पठाउने भन्दै ठगी गर्ने बिचौलिया विदेशमै बसेका हुने भएकाले पक्राउ गर्न थप चुनौती हुने गरेको प्रहरीले जनाएको छ। उनीहरू प्रायः पीडितकै गाउँका परिचित वा आफन्त हुने गरेको पाइएको छ।
एक व्यक्तिले अमेरिका पठाइदिने भन्दै ५० लाख रुपैयाँ बुझाएको उजुरीसमेत परेको छ। धेरैजसो पीडितले सामाजिक सञ्जालमा देखेका आकर्षक विज्ञापनको भरमा पैसा बुझाउने गरेका छन्। सुरूमा थोरै रकम लिई विभिन्न देशमा पु-याएर थप पैसा माग्ने क्रम अन्तिम गन्तव्यसम्म जारी रहने गर्दछ।
पीडितहरू आर्थिक मात्र नभई मानसिक र सामाजिक रूपमा पनि गम्भीर असरमा पर्ने एसपी आचार्य बताउँछन्। कामका लागि सीप, योग्यता, र आवश्यक कानुनी प्रक्रिया नबुझी, बैंकमार्फत नभई व्यक्तिगत रुपमा पैसा बुझाउनेहरूले बढी ठगी भोग्ने गरेको उनको भनाइ छ।
उनले विदेशमा बसेको आधारमा कोही उन्मुक्ति पाउने छैनन् भन्दै दोषीलाई अनुसन्धानको दायरामा ल्याइने विश्वास दिलाएका छन्।
विदेश जाने सपना देख्दा सजग बनौं, कागजात र प्रक्रियालाई प्राथमिकता दिऊँ—अवसरभन्दा अगाडि सुरक्षा हेर्न जरुरी छ।
