काठमाडौं — इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षालाई ध्यानमा राख्दै उद्धार तथा स्वदेश फिर्तीका लागि विवरण सङ्कलन सुरु गरिएको छ।
इजरायलस्थित नेपाली राजदूतावासले हालको तनावग्रस्त अवस्थाका बीच समस्या र त्रासमा परेका नेपाली नागरिकलाई आवश्यकताअनुसार उद्धार तथा फिर्ती गर्न अनलाइन फारममार्फत रजिस्ट्रेसन गर्न आह्वान गरेको हो।
इजरायलमा करिब साढे पाँच हजार नेपाली रहेका छन् भने इरानमा १२ जना नेपाली भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। युद्धको अवस्था चर्कंदै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै दूतावासले नेपालीहरूको विवरण सङ्कलन थालेको हो।
यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक परेको अवस्थामा तत्काल उद्धार गर्न सकिने गरी तयारी अवस्थामा बस्ने निर्णय गरेको छ। मंगलबार मन्त्रालयमा बसेको अन्तरमन्त्रालयीय बैठकले यस्तो निर्णय गरेको हो।

