नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत तुईन खोला पुल नजिक सुक्खा पहिरो खस्दा मंगलबार दिउँसोदेखि सवारी आवागमन अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार दिउँसो १२ बजेतिर नयाँ पुल निर्माणका लागि पहरा काटिएको स्थानबाट अचानक सुख्खा पहिरो खसेको हो।
पहिरो खसेपछि दुबै दिशाको यातायात ठप्प भएको छ भने सडक सुचारु गर्न आवश्यक उपकरणसहितको टोलीले खटिएर पहिरो हटाउने काम गरिरहेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मौसम अनुकूल रहेमा र थप पहिरो नखसेको खण्डमा दुईदेखि तीन घण्टाभित्र सडक पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
सडक बन्द हुँदा यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

