गत वर्षको बर्खामा बागमती नदीले काठमाडौं उपत्यकामा ठुलो क्षति पुर्याएको थियो। लगातारको वर्षाले नदीमा पानीको बहाव अत्यधिक बढ्दा बल्खु, थापाथली र युएन पार्क जस्ता क्षेत्र डुबानमा परेका थिए।
प्रत्येक वर्ष बर्खाको समयमा नदी आसपासका क्षेत्र जलमग्न हुने अवस्था दोहोरिने गरेकाले यसपटक काठमाडौं महानगरपालिकाले पूर्वतयारी थालिएको छ।
महानगरले नदीमा पानीको सतह नबढ्दै डोजर प्रयोग गरेर नदी किनारमा जमेको माटो, फोहोर र ढिस्काहरू हटाउने काम सुरु गरिसकेको छ। मंगलबार बिहान बल्खु क्षेत्र आसपास बागमती नदी सफा गर्न डोजर परिचालन गरिएको थियो।
नदीको बहाव सहज होस् र सामान्य वर्षामा पनि डुबान नहोस् भन्ने उद्देश्यले नदी केही गहिरो बनाउने कामसमेत भइरहेको छ।
केवल बागमती मात्र होइन, काठमाडौं उपत्यकाभित्र रहेका अन्य साना नदीनालामा पनि यही प्रकृतिको सरसफाइ र गहिराइ बढाउने कार्य भइरहेको महानगर स्रोतले जनाएको छ।
यस किसिमको तयारीले बर्खाको समयमा हुने डुबान र क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

