गुल्मीमा पर्ने कालीगण्डकी करिडोर सडक पहिरोका कारण बन्द भएको छ। कालीगण्डकी गाउँपालिका–६ बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।
स्थानीय तहका अनुसार पहिरोमा चट्टानसमेत खसेका कारण बाटो खुलाउन कठिनाइ भएको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले पहिरो हटाउने प्रयास सोमबार रातिसम्म गरिएको भए पनि निरन्तर पहिरो झरिरहेकाले बाटो सञ्चालन गर्न नसकिएको जानकारी दिए।
सडक अबरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी चौकी भुर्तुङमार्फत प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा टोली खटाइएको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको रूपमा पर्वत हुँदै गन्तव्यमा जान सुझाव दिइएको छ। सडक लामो समयसम्म अवरुद्ध हुँदा पर्वत, बागलुङ, पोखरालगायत गन्तव्यमा आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन्। अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालन हुने सम्भावना देखिएको छैन।

