संघीय संसद्को प्रतिनिधि सभामा आज संघीय निजामति सेवा सम्बन्धी विधेयक पारित गर्ने तयारी छ। यो विधेयक संसदमा दर्ता भएको लामो समयपछि अन्ततः पारित गरिने प्रक्रियामा पुगेको हो।
आज दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि पारितको प्रस्ताव पेस गर्ने तयारी गरिएको छ।
यसअघि यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मत रूपमा पारित गरी प्रतिनिधि सभामा पठाएको थियो। समितिमा छलफलको क्रममा अवकाशपछि कर्मचारी पुनः सेवामा फर्कन सक्ने समय सीमा अर्थात् ‘कुलिङ पिरियड’बारे धेरै बहस भएको थियो। अन्ततः २ वर्षे अवधि राख्ने सहमतिसहित विधेयक अगाडि बढाइएको हो।
तर, यो प्रावधानमा सत्तापक्षभित्रै मतभेद देखिएको छ। नेपाली कांग्रेसले २ वर्ष कायम हुनुपर्ने अडान लिएको छ भने एमालेले १ वर्ष पर्याप्त हुने धारणा राखेको छ।
यस विषयमा सरकारभित्रै असन्तुष्टि रहेको र त्यसैले आजको कार्यसूचीबाट विधेयक पारितको बुँदा हटाउने प्रयाससमेत भइरहेको कांग्रेसका एक सांसदले बताएका छन्।
‘कुलिङ पिरियडजस्ता विषयमा सरकार स्वयं स्पष्ट छैन। त्यसैले विधेयक पास गर्ने कार्यसूची नै परिवर्तन हुन सक्ने अवस्था देखिएको छ,’ ती सांसदले बताएका छन्।
अब प्रतिनिधि सभाको बैठकपछि मात्र विधेयकको भविष्यमाथि स्पष्टता आउनेछ।
