राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा जारी विवादित मुद्दाहरूको समाधान नगरी जबरजस्ती प्रक्रिया अगाडि बढाउने प्रयासप्रति आपत्ति जनाएका छन्।
संघीय संसदको आजको बैठकमा बोल्दै उनले नेपालको निर्वाचन प्रणालीले साना ठूला सबै विचारलाई प्रतिनिधित्व दिने व्यवस्था गरेको उल्लेख गर्दै, कुनै मतलाई दबाउन नहुने तर्क प्रस्तुत गरे।
“हामीले यस्तो प्रणाली बनाएका छौँ जहाँ एक सिट जितेको दलको पनि संसदमा उपस्थिति हुन्छ। त्यसैले सबै दल बराबरी सम्मानका हकदार छन्,” उनले भने।
लिङ्देनले सभामुखलाई सम्पूर्ण सांसदको अभिभावक भन्दै, सानो वा ठूलो दलको विभेद नगरिनुपर्नेमा जोड दिए।
उनका अनुसार संसदमा हाल फरक मत रहेका ठूला दलहरूबीच सहमति विना जबरजस्ती बैठक सञ्चालन गर्नु संसदीय मर्यादाको उल्लङ्घन हो। “यस्ता परिस्थितिमा संसद चलाउनु न त समाधान हो, न त उदाहरणीय अभ्यास,” उनले चेतावनी दिए।
उनले स्पष्ट शब्दमा भने, “यदि बैठक जबरजस्ती अगाडि बढाइन्छ भने राप्रपा सहभागी हुने छैन, हामी बहिष्कार गर्छौं।” साथै, उनले राप्रपाका सांसदहरूको नाममा आउने बैठक भत्ता राजस्वमा फिर्ता गर्नसमेत आग्रह गरे।
