नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नै देशको नेतृत्वका लागि उपयुक्त व्यक्ति रहेको दाबी गरेका छन्।
सोमबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै सापकोटाले पार्टीले त प्रचण्डको नेतृत्व अपरिहार्य हो भन्ने कुरा पहिल्यै बुझेको भए पनि अहिले आम जनताले पनि त्यही कुरा स्वीकार्न थालेको बताए।
उनका अनुसार, माओवादीको देशव्यापी अभियानका क्रममा अन्य पार्टीका निर्वाचित जनप्रतिनिधिहरूबाट समेत स्वागत, ज्ञापनपत्र र समर्थन देखिनुले आम धारणा परिवर्तन भएको पुष्टि गर्छ।
कांग्रेस र एमालेप्रति जनताको मोह घट्दै गएको सापकोटाको भनाइ थियो। उनले कांग्रेसलाई प्रजातान्त्रिक सामन्तहरूको पार्टीको रूपमा उल्लेख गर्दै, एमालेका कतिपय कार्यकर्ताहरू आफैं लज्जित भएको अवस्था देखिएको टिप्पणी गरे।
“जहाँ जहाँ हामी पुगेँ, एमालेका कार्यकर्ताहरूको अनुहार झुकेको पाइयो। उनीहरू नै अब निराश छन्। हाम्रो पार्टीलाई जनताले फेरि विकल्पका रूपमा स्वीकार्न थालेका छन्,” सापकोटाले भने।
उनले विभिन्न स्थानीय तहमा कांग्रेस र एमालेबाट निर्वाचित प्रतिनिधिहरूले समेत माओवादी नेतृत्व नै भविष्यका लागि आवश्यक रहेको धारणा व्यक्त गरेको पनि बताए।
अन्त्यमा उनले शहीद परिवारलाई राजनीतिक फाइदाका लागि प्रयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए।
