सभामुख देवराज घिमिरेले संसद् अवरोधबारे छलफल गर्न आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग सरकारी निवास बालुवाटारमा भेट गरेका छन्।
भेटवार्तामा सभामुख घिमिरेले दुई सातादेखि संसद् अवरुद्ध हुँदा बजेटमाथि आवश्यक छलफल हुन नसकेको र यसले जनतामा नकारात्मक सन्देश पुर्याएको बताएका छन्। उनले भने, “विपक्षीका मुद्दा गम्भीर छन्, त्यसैले सहमतिको प्रयासस्वरूप संसद् रोकेको थिएँ। तर अब संसद् थप रोक्ने अवस्था छैन। संसद् सञ्चालन गर्न संवैधानिक जिम्मेवारी पूरा गर्नु मेरो कर्तव्य हो।”
उनले जानकारी गराउँदै थपे, “राष्ट्रिय सभाले ५ गतेभित्र बजेट विधेयक पठाउन निर्देशन दिइसकेको छ, त्यसैले जुनसुकै अवस्थामा बजेट पारित गर्नैपर्छ। तपाईंहरूले आन्दोलनको स्वरूप परिमार्जन गर्दै संवैधानिक दायरा बुझ्न जरुरी छ। आवश्यक परेमा सरकारसँग संवाद गराउन म स्वयं सहजीकरण गर्न तयार छु।”
रास्वपाका नेताहरूले भने सरकार आफ्ना मागप्रति गम्भीर नभएकाले संसद् अवरुद्ध गर्नु परेको बताएका छन्। उनीहरूले भने, “हाम्रा मागहरू जनताको समस्यासँग जोडिएका छन्। हालको अवस्थामा ती मुद्दाबाट पछि हट्ने सम्भावना छैन। तर समाधान खोज्न हामी संवाद र छलफलमै छौं।”
बैठकमा दुवै पक्षले सहमतिको बाटो खोज्न संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

