स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन्।
सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई हराएपछि आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण बनेको छ। खेल स्कटल्यान्डको ग्लास्गोस्थित मैदानमा नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ।
सिरिजका लागि नेपाली टोलीमा केही नयाँ अनुहार समावेश गरिएका छन्। चोटका कारण बाहिरिएका गुल्सन झा र सोमपाल कामीको स्थानमा रुपेश सिंह, लोकेश बम र किरणकुमार ठगुन्ना टोलीमा परेका छन्।
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म १३ पटक टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन्। जसमा नेपालले ५ खेल जितेको छ भने नेदरल्यान्ड्सले ७ खेलमा बाजी मारेको छ। एक खेल नतिजाबिहीन भएको थियो।
दुवै टोलीबीचको पछिल्लो सामना गत वर्ष टी–२० विश्वकपमा भएको थियो, जहाँ अमेरिकाको डलासमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।
सिरिजलाई नेपालले आगामी टी–२० विश्वकप २०२६ को छनोटका लागि तयारीको रुपमा लिएको छ। यसअघि चैत महिनामा नेपालले हङकङमा भएको चारदेशीय टी–२० सिरिज खेलेको थियो।
आगामी महिना नेपालले श्रीलंकामा अभ्यास गर्ने कार्यक्रम तय भएको छ। वर्षाको समय टार्न श्रीलंकामा तालिम गर्ने योजना बनाइएको हो। त्यसपछि नेपाली टोली अस्ट्रेलिया प्रस्थान गर्नेछ, जहाँ पाकिस्तान र बंगलादेश ‘ए’ टोली तथा बिग ब्यास लिगका खेलाडीहरूसँग अभ्यास खेल खेलिनेछ।
सेप्टेम्बरमा टोली युएई प्रस्थान गर्नेछ, जहाँ नेपालले टेस्ट टोली वेस्ट इन्डिजसँग टी–२० श्रृंखला खेल्ने कार्यक्रम छ।
अन्ततः अक्टोबरमा ओमानमा हुने एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको अन्तिम छनोटमा नेपाल सहभागी हुनेछ। उक्त छनोटबाट शीर्ष तीन टोलीले भारत र श्रीलंकामा हुने टी–२० विश्वकप २०२६ मा स्थान बनाउनेछन्।
विश्वकपमा आयोजक भारत र श्रीलंकासहित कुल १२ टोली सिधै छनोट भइसकेका छन्। बाँकी ८ स्थान क्षेत्रीय छनोटबाट टुंग्याइनेछ।