सामाजिक सञ्जालमा ‘अलविदा’ लेख्दै स्टाटस पोस्ट गरेका डा. केशव श्रेष्ठ हाल सम्पर्कविहीन भएका छन्। रामेछाप जिल्ला अस्पतालमा कार्यरत रहेर हालै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत हेटौंडा सरुवा भएका डा. श्रेष्ठले फेसबुकमार्फत आफूलाई झूठो आरोप लगाएर आर्थिक चलखेलको भरमा सरुवा गरिएको गुनासो पोखेका थिए।
डेढ घण्टा अघि सामाजिक सञ्जालमा स्टाटस लेखेका उनले रामेछाप अस्पतालमा २५ महिना सेवा गरेको र तीमध्ये १८ महिना निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेको उल्लेख गरेका छन्। अस्पताल सुधार गर्ने क्रममा आफूले विभिन्न राजनीतिक दबाब र धम्की झेल्नुपरेको आरोप उनले लगाएका छन्।
डा. श्रेष्ठका अनुसार रामेछाप–८ का पूर्व वडाध्यक्ष केदार कार्कीले बारम्बार अवाञ्छित दबाब दिएको र पैसा नदिएको तथा आफूले सिफारिस नगरेको कर्मचारीलाई नियुक्त नगरेको रिसइबीमा झूठा आरोप लगाएर सरुवा गराइएको हो।
फेसबुक स्टाटसमा उनले लेखेका छन्— अस्पताल सुधारको लागि रातदिन खटिए पनि केही कर्मचारी र राजनैतिक प्रभावशाली व्यक्तिहरूले अवरोध पुर्याउने प्रयास गरे। आफूले एकजना डाक्टरलाई ‘एप्रन किन नलगाएको?’ भनेर सोध्दा त्यसको प्रतिक्रिया स्वरूप ती डाक्टरले तत्कालै केदार कार्कीलाई बोलाई कार्यकक्षमै धम्की दिएको र आफूलाई सरुवा गराउने चेतावनी दिएको पनि उनले दाबी गरेका छन्।
डा. श्रेष्ठ सम्पर्कमा नरहेपछि जिल्ला प्रहरी कार्यालय रामेछाप र काठमाडौं प्रहरी टोलीले खोजी कार्य अघि बढाएका छन्। रामेछापका डीएसपी प्रदीपकुमार सिंहका अनुसार, श्रेष्ठको मोबाइल स्विच अफ रहेको र अन्तिम लोकेशन काठमाडौंको चावहिलमा देखिएको जानकारी दिएका छन्।
‘उहाँको फेसबुक स्टाटस र सरुवासम्बन्धी विषयमा हामीले थप अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी सिंहले बताएका छन्।

