सभामुख देवराज घिमिरे संसदमा जारी अवरोध हटाउने प्रयासमा सक्रिय रूपमा लागिपरेका छन्। यही उद्देश्यका साथ अहिले उनले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
प्रधान विपक्षी दल माओवादी केन्द्र संसद् सञ्चालनमा सहमत भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध जारी राखेकाले सभामुखले साझा सहमति खोज्न पहल गरेका हुन्।
भेलामा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपाका ज्ञानबहादुर शाही सहभागी छन्।
यसअघि आज बिहानै पनि सभामुख घिमिरेले रास्वपाका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र प्रमुख सचेतक परियारसँग संसद् अवरोधबारे छुट्टै छलफल गरेका थिए।

