सभामुख देवराज घिमिरेले संसद् अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग बालुवाटारमा छलफल गरेका छन्।
आज बिहान सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सभामुख घिमिरेले दुई सातादेखि जारी संसद् अवरोधले बजेट छलफलमा बाधा पुगेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, “अहिले देश समृद्ध बनाउने दिशा तर्फ बजेटबारे गम्भीर छलफल आवश्यक छ, तर सदन ठप्प हुँदा जनतामा नकारात्मक सन्देश गएको छ। विपक्षीका माग गम्भीर छन्, त्यसैले दुई हप्ता सहमतिको प्रयासस्वरूप सदन रोकेको थिएँ, तर अब संसद् रोकिराख्ने अवस्था छैन।”
सभामुखले संवैधानिक दायरा पनि ध्यान दिनुपर्ने बाध्यता औंल्याउँदै भने, “राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधि सभाबाट बजेट विधेयक पठाउन भनेको छ। यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्छ। तपाईंहरूले आन्दोलनको स्वरूप केही परिमार्जन गर्दै संवैधानिक बाध्यता बुझ्नुपर्छ। सरकारसँग संवाद गराउन म सहजीकरणको भूमिका खेल्न तयार छु, गम्भीर छलफल गरौं।”
भेटमा रास्वपा नेताहरू अर्याल र परियारले भने, “हाम्रा माग जनताका गम्भीर समस्या हुन्। सरकार गम्भीर नभएकै कारण संसद् अवरुद्ध भएको हो। यथास्थितिमा मुद्दाबाट पछि हट्ने सम्भावना छैन, तर समाधानका लागि संवाद खुला छ।”
प्रायः एक घण्टा चलेको छलफलमा दुवै पक्षले समस्या समाधानका लागि संवादमार्फत अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
