नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुखमाथि टिप्पणी गर्नेहरूलाई पहिले आफ्नै व्यवहार ऐनामा हेर्न सुझाव दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई संसदीय प्रक्रिया अवरुद्ध गर्ने कार्यबाट टाढा रहन आग्रह गर्दै यस्तो चेतावनी दिएका हुन्।
भट्टराईले भनेका छन्, “नाराबाजीका बीच संसद् सञ्चालन हुनु राम्रो होइन, तर के यो पहिलो पटक हो त? विगतमा पनि हरेक सभामुखको पालामा कुनै न कुनै दलले नाराबाजी गरेको इतिहास छ।” उनले अहिलेका सभामुखप्रति टिप्पणी गर्नुअघि विगतका सभामुखबारे गरिएको लेख, भनाइ र व्यवहार सम्झन आग्रह गरेका छन्।
सांसदहरूले सदनमा नाराबाजी गरेर प्रक्रिया रोक्नुको सट्टा बहसमा सामेल हुनुपर्ने उनको भनाइ छ। उनले रास्वपालाई स्मरण गराउँदै भने, “पहिले पनि संसद् नाराबाजीकै बीच चलेको थियो, यो नयाँ होइन।”
सचिव भट्टराईले संसदीय अवरोधका विषयहरूमा साझा धारणा बनाउन छलफल आवश्यक रहेको बताए। उनले प्रश्न गरेका छन्, “कसरी सबैको सहमति बनाउने? कुन कुरामा बैठक अवरुद्ध गर्ने? बहुलबादी र बहुदलीय व्यवस्थामा प्रत्येक विषयमा सबैको सहमति हुने ग्यारेन्टी कसले दिन्छ?”
उनको भनाइमा, बहुमत र अल्पमतबीचको स्वस्थ अभ्यास नै लोकतन्त्रको आधार हो र संसद् सबैपक्षले स्वीकार्ने प्रणालीमा सञ्चालन हुनुपर्छ। अन्तमा उनले सोधेका छन् — “दोषी सभामुख हुन् त? कि हाम्रो इगो?”
