नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे सहमति र नेता अग्नि सापकोटाको मुद्दालाई एकआपसमा जोडिएको भन्ने टिप्पणी निराधार रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभामा बोल्दै नेता पुनले भिजिट भिसा सम्बन्धी समस्यालाई समाधान गर्न एक महिनाको समयसीमा तोकिएको स्मरण गराउँदै, माओवादी नागरिकका पक्षमा उभिएको र समस्याको निष्पक्ष छानबिन हुनुपर्ने अडानमा दृढ रहेको बताए।
उनले भिजिट भिसा समस्या नयाँ नभई विगतदेखि नै रहँदै आएको गम्भीर विषय भएको र यसमा ठोस अनुसन्धान जरुरी रहेको उल्लेख गरे।
पुनले केहीले माओवादीले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको कारण सहमतिमा डरले साथ दिएको भन्ने आशंका खारेज गर्दै भने, “हामी तर्सिएका छैनौं, नागरिकको पीडा अन्त्य गर्न सरकार तयार छ, माओवादी पनि तयार छ।”
त्यस्तै, अग्नि सापकोटाको मुद्दालाई सहमतिसँग जोडेर गरिएको प्रचारप्रति असहमति जनाउँदै उनले भने, “यो विषय अदालतमा विचाराधीन छ, यसमा लेनदेन भएको भन्ने प्रचारको कुनै आधार छैन। माओवादी सरकारतर्फ गलेको भन्ने भ्रम पनि सत्य होइन।”
