प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभामा जारी अवरोध नहटाउने स्पष्ट पारेका छन्।
सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूसँग छलफल गर्दै संसद सञ्चालनको प्रयास गरे पनि रास्वपा र राप्रपाले आफ्नो अडान यथावत् राखेका हुन्।
छलफलपछि दुबै दलका प्रमुख सचेतकहरूले संसदमा अवरोध कायम रहने जानकारी दिए।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको राजीनामाको माग अझैपनि यथावत रहेको बताए। उनले सरकारको पूर्व सहमति ठोस नभएको र छानबिन प्रक्रिया कमजोर भएको भन्दै असन्तुष्टि जनाए।
“हामी झारो टार्ने सहमति होइन, न्याय सुनिश्चित गर्ने छानबिन समिति चाहन्छौं,” परियारले भने।
त्यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि संसद अवरोधका कार्यक्रम जारी रहने बताए। “छानबिन समिति नबन्दासम्म विरोधका कार्यक्रम रोकिन्न। अहिलेका मात्र होइन, अघिल्ला गृहमन्त्रीहरू पनि अनुसन्धानको दायरामा आउनुपर्छ,” शाहीले भने।
आइतबार संसदको बैठक बिहान ११ बजेका लागि तय गरिएको थियो तर, पौने १ बजेसम्म सुरु हुन सकेको थिएन। सत्तापक्ष संसद सञ्चालनको तयारीमा रहे पनि रास्वपा–राप्रपाको अवरोधका कारण प्रक्रिया प्रभावित भइरहेको छ।
यसअघि शुक्रबार पनि प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले संसद सञ्चालनमा सहमति जनाएपछि रास्वपाको विरोधका बीच सदन चलाइएको थियो। तर गृहमन्त्रीले सम्बोधन गर्ने क्रममा रास्वपा सांसदहरूले वेल घेरेर नाराबाजी गरेका थिए।
