मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहरिएका छन्। काठमाडौं जिल्ला अदालतले शुक्रबार अन्तिम आदेश सुनाउँदै उनलाई यौन दुर्व्यवहार गरेको ठहर गरेको हो।
पोखरेलमाथि आफ्नै घरमा काम गर्न बसेकी एक युवतीमाथि बलात्कारको आरोप लाग्दै आएको थियो। तर, न्यायाधीश खिमानन्द भुषालको इजलासले बलात्कारसम्बन्धी अभियोगका लागि पर्याप्त प्रमाण नभएको भन्दै उक्त आरोपबाट उन्मुक्ति दिएको छ।
२०८० साउन १२ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला प्रहरी परिसरले पोखरेलविरुद्ध बलात्कार कसुरमा मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दा २०८० भदौ ५ गते जिल्ला अदालतमा पेश भएको थियो। अदालतले उपलब्ध प्रमाणका आधारमा मुद्दा यौन दुर्व्यवहारका रूपमा पुष्टि भएको ठहर गर्दै फैसला सुनाएको हो।

