मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडकखण्डको हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा बनेको समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजनका प्रमुख श्यामकुमार यादव र सडक विभागका इन्जिनियर अमितकुमार वर्मा सदस्य रहेका छन्।
समितिलाई घटनाको कारण पत्ता लगाउने, यस्ता दुर्घटना दोहोरिन नदिनुपर्ने उपाय सुझाउने र तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिने सम्भावना अध्ययन गर्ने जिम्मा दिइएको छ। समितिले स्थलगत निरीक्षणसहित ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।
पुल भाँचिँदा ३ जनाको ज्यान गएको थियो। समिति आइतबारदेखि नै सक्रिय रूपमा काममा जुटिसकेको छ।
