जाजरकोटको नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोटतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।
रुकुमपश्चिमको आठबीसकोट–११, गत्ता सैना निवासी ६५ वर्षीय कैलो विकको ज्यान गएको हो। बारेकोट गाउँपालिका–८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश ०२००१प ६५५६ नम्बरको मोटरसाइकलले नलगाड–७ चामेखेतमा विकलाई आज बिहान ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका विकलाई उपचारका लागि रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिएका छन्।
घटनापछि मोटरसाइकल चालक नारायण सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
