तेहरान र तेल अभिभबीचको तनावले फेरि गहिरो मोड लिएको छ। पछिल्लो क्षणमा इरानले इजरायलतर्फ दागेको क्षेप्यास्त्रले ठूलो क्षति पुर्याएको पुष्टि भएको छ। अमेरिकामा रहेका इजरायली अधिकारीहरूले एक जना महिलाको ज्यान गएको जानकारी दिएका छन् भने झण्डै ४० जना घाइते भएका छन्।
शुक्रबार राति इजरायलको तेल अभिभ नजिकैको एक बस्ती क्षेत्रमा क्षेप्यास्त्र खसेपछि सो महिलाको मृत्यु भएको र अन्य केही नागरिकहरू घाइते भएको पुष्टि इजरायली प्रहरीका प्रवक्ताले गरेका छन्।
शनिबार बिहान पनि इरानले पुनः आक्रमणको प्रयास गरेको जनाइएको छ। आकाशमा गडगडाहटसहित विस्फोटका आवाजहरू सुनिएपछि स्थानीय बासिन्दाहरू बंकरतर्फ भागेका थिए। सुरक्षात्मक प्रणालीले केही क्षेप्यास्त्र अवरोध गरे पनि केहि घर र सवारी साधनमा क्षति पुगेको देखिएको छ।
सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूले क्षेप्यास्त्र प्रहारको भयावह दृश्य प्रस्तुत गर्छन् — भत्केका घर, क्षतिग्रस्त गाडीहरू र भग्नावशेषले भरिएको सडक। यद्यपि, सुरक्षाको कारण इजरायली सुरक्षाकर्मीहरूले क्षेप्यास्त्र खसेको वास्तविक स्थान गोप्य राखेका छन्।
आपत्कालीन सेवाले हालसम्मको जानकारी अनुसार थप १० जना घाइते भएको र उनीहरूलाई अस्पतालमा उपचार दिइएको जनाएको छ। तीमध्ये अधिकांशलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको बताइएको छ।
ईरान र इजरायलबीचको यो पछिल्लो हिंसात्मक मुठभेडले क्षेत्रीय अस्थिरता थप चर्काउने संकेत देखिएको छ।