सभामुख देवराज घिमिरेले मातृभाषाको संरक्षण र प्रवर्द्धनका लागि राज्यले स्पष्ट र प्रभावकारी नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
ललितपुरमा आयोजित दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले मातृभाषामा पत्रकारिता गर्दा विविध चुनौती देखा परिरहेको भन्दै त्यसलाई समाधान गर्न नीति र सहकार्य आवश्यक रहेको बताए।
उनले सम्मेलनबाट तयार हुने दस्तावेजहरूले मातृभाषा संरक्षणमा टेवा पुर्याउनुका साथै राष्ट्रलाई समावेशी बनाउने दिशामा योगदान पुर्याउने विश्वास व्यक्त गरे। “देशका १२४ जातजाति र लोपोन्मुख समुदायहरूको संरक्षणमा विभिन्न निकायले काम गरिरहेका छन्,” उनले भने, “रासस, गोरखापत्र र सार्वजनिक प्रसारण संस्थाहरूले ६२ भाषामा कार्यक्रम प्रस्तुत गरेर राम्रो पहल गरेका छन्।”
सभामुख घिमिरेले सम्मेलनले जातीय विविधता, संस्कृति र विचार आदानप्रदानका लागि अन्तरराष्ट्रिय अनुभव साटासाट गर्ने अवसर सिर्जना गर्ने धारणा राखे। उनका अनुसार, यस्तो सम्मेलनले मातृभाषा पत्रकारितालाई अझ व्यावसायिक, समावेशी र पहुँचयोग्य बनाउने सम्भावना बोकेको छ।
सम्मेलन धर्मदित्य धर्माचार्य (जगतमान वैद्य) द्वारा सुरु गरिएको मातृभाषा पत्रकारिताको १०१औँ वर्षमा विशेष रुपमा आयोजित गरिएको हो। सभामुख घिमिरेले धर्माचार्यको योगदानले मातृभाषा पत्रकारिताको जग बसाएको उल्लेख गरे।
सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टले मातृभाषामा सञ्चारले समुदायमा सूचना प्रवाहको पहुँच बढाउने कार्य गरिरहेको बताए।
सम्मेलनका संयोजक तथा नेवा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले मातृभाषा पत्रकारिताले नेपालको राजनीतिक परिवर्तन र सामाजिक-सांस्कृतिक चेतनामा ऐतिहासिक भूमिका खेलेको बताए।
त्यस्तै, महासचिव के के मानन्धरले १३ वर्षअघि स्थापना भएको नेवा पत्रकार राष्ट्रिय दबूले पत्रकारको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर संघर्ष गर्दै मातृभाषा पत्रकारिता अघि बढाउने काममा सक्रिय भूमिका निभाइरहेको जानकारी दिए।
यसअघि, २०८१ साल जेठ १९ र २० गते पहिलो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न गरिएको थियो।
