तीनकुनेमा भएको आगजनी र त्यसक्रममा पत्रकारको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
अदालतको आदेशअनुसार दुर्गा प्रसाईंका साथै सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार पठाइएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए।
२०८१ चैत १५ मा पूर्वराजाका समर्थकहरूको प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार संकलनका लागि पुगेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। उक्त घटनामा संलग्न रहेकाहरूलाई ज्यानसम्बन्धी अभियोगमा कारवाही अघि बढाइएको छ।
प्रदर्शनमा दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्व रहेको थियो। आगजनीका कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा नष्ट भएको थियो। सोही घरभित्र पत्रकार रजकको मृत्यु भएको थियो।
प्रहरी अनुसन्धानका अनुसार, आगजनीमा रामेछापको सुनापति गाउँपालिकाका सरोज गौतम र अछामका गोकर्ण शाहीको संलग्नता देखिएको छ। घटनामा संलग्न अन्य आरोपीहरूविरुद्ध पनि अनुसन्धान अगाडि बढाइएको छ।

