×

“प्रतिनिधि सभा छिट्टै सञ्चालनमा आउँछ : सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरूङ”

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले लामो समयदेखि अवरुद्ध रहेको प्रतिनिधि सभाको बैठक छिट्टै सञ्चालनमा आउने दाबी गरेका छन्।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरूङले सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर संवाद भइरहेको र केही दिनमै संसद सञ्चालनमा आउने अपेक्षा व्यक्त गरे।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। तर मन्त्री गुरूङले उक्त मागलाई औचित्यहीन ठहर गर्दै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका एक कर्मचारीमाथि छानबिन थालेको कुरामात्र आधार बनाएर मन्त्रीको राजीनामा माग गर्नु उपयुक्त नभएको बताए।

उनले भने, “सरकारमा बस्ने हरेक मन्त्री कर्मचारीमाथि छानबिन हुँदा तुरुन्त राजीनामा दिने हो भने शासन प्रणाली नै धरापमा पर्छ। अहिलेको अवरोध अन्त्य गर्न सत्तापक्ष र प्रतिपक्षबीच संवाद चलिरहेको छ। सम्भवतः आजै संसद खुल्ने सम्भावना पनि छ।”

गुरूङले संसद अवरुद्ध भइरहँदा बजेटसँग सम्बन्धित महत्वपूर्ण छलफलहरू प्रभावित भएको र त्यसलाई अघि बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनका अनुसार गृहमन्त्रीको राजीनामाको मागभन्दा पनि विषयलाई संसदीय प्रक्रिया र अनुसन्धानद्वारा सम्बोधन गर्नु उचित हुनेछ।

अन्त्यमा, उनले सानातिना विषय उठाएर राजनीतिक प्रक्रिया अवरुद्ध गर्नुले देशको समग्र प्रगति प्रभावित हुने चेतावनी दिए। “राजनीति सन्तुलित र जिम्मेवार ढंगले अगाडि बढ्नुपर्छ,” मन्त्री गुरूङको धारणा थियो।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x