राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सत्तापक्षले पाँच बुँदे प्रस्ताव स्वीकार नगरेसम्म प्रतिनिधिसभाको अवरोध नहट्ने स्पष्ट पारेका छन्।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै विपक्षी दलहरू एक भएर अघि बढिरहेको जानकारी दिँदै उनले भने, “सत्तापक्ष तयार भए संसद खुल्न सक्छ, नभए लुटतन्त्र चलाउन आएका हौं भनेर लिखित रूपमा घोषणा गरेमा मात्रै अवरोध हट्छ।”
रातोपाटीसँग कुराकानी गर्दै उनले सत्ता पक्षलाई जिम्मेवार बन्न आग्रह गरे। “पाँच बुँदे सहमतिका लागि सत्तापक्षलाई बुझाइएको छ तर अहिलेसम्म कुनै जवाफ आएको छैन,” उनले भने।
झाले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को फरक प्रस्तावबारे आफूलाई जानकारी नभएको जनाउँदै, कांग्रेससँग भएको कुरा भने जनतासामु स्पष्ट पारेको दाबी गरे।
संसद् अवरोध हटाउन विपक्षी दलहरू आन्तरिक रूपमा छलफलमा जुटिरहेको र सत्तापक्षसँग पनि संवाद भइरहेको उनले जानकारी दिए।

