जाजरकोटमा एक व्यक्तिमाथि खुकुरी प्रहार गरी फरार रहेका दुई युवकलाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामा जाजरकोटको कुशे गाउँपालिका–७ निवासी २७ वर्षीय दीपेन्द्र सिंह र तप्त सिंह रहेका छन्। उनीहरूलाई कीर्तिपुरको ट्याङ्लाफाँट क्षेत्रबाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
एसपी आचार्यका अनुसार जाजरकोट जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जाजरकोट प्रहरीले जेठ २२ गते पत्राचारमार्फत उनीहरूलाई पक्राउ गरिदिन अनुरोध गरेको थियो।
पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा संलग्न भनिएका यी दुई जना हाल प्रहरी हिरासतमा रहेका छन् र थप अनुसन्धान अघि बढाइएको छ।

