राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको वर्षायामका कारण तत्काल ठूलो आन्दोलन सम्भव नरहेको बताउँदै उपयुक्त समयमा पार्टीले सशक्त आन्दोलन गर्ने बताएका छन्।
झापाको हल्दिबारीमा जेठ २४ गते सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राप्रपाको आन्दोलन केवल राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा मात्र नभई सुशासन र समृद्धिको पक्षमा पनि रहेको बताए।
लिङ्देनले विगत तीन दशकदेखि सीमित नेताहरूले देशको नेतृत्व गरिरहेकाले अब वैकल्पिक नेतृत्व आवश्यक भएको धारणा राखे। साथै, संविधानका केही प्रावधानप्रति असहमति भए पनि कतिपय विषय सकारात्मक रहेको पनि उनको भनाइ थियो।
यसअघि, नवराज सुवेदीको नेतृत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ले राप्रपाको समर्थनमा जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको थियो। तर, एक हप्तामै उक्त आन्दोलन निष्क्रिय भएको छ।
काठमाडौंकेन्द्रित रणनीति परित्याग गर्दै अब उक्त समिति जिल्लास्तरीय आन्दोलनतर्फ मोडिएको छ। राप्रपाले भने ठूलो जनसहभागिता र उपयुक्त मौसम पर्खेर भावी चरणमा निर्णायक आन्दोलनको संकेत गरेको छ

