×

तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, दर्जनौँ घाइते

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

दाङको तुलसीपुरमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।

आईतबार बिहान करिब पौने ११ बजेको समयमा तुलसीपुर–१३ बखरियास्थित राप्ती राजमार्ग खण्डमा ना १ ख ४००९ नम्बरको बस दुर्घटनामा परेको हो। दंगीशरण गाउँपालिका–२ कौवाघारीबाट तुलसीपुरतर्फ जाँदै गरेको बस स्कुल बससँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको बताइएको छ।

दुर्घटनामा परी दंगीशरण–२ का ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए। दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा निधन भएको हो।

प्रहरीका अनुसार, दुर्घटनामा ३० जना घाइते भएका छन्, जसमा अधिकांशको अवस्था सामान्य रहेको छ भने ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटना तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति माविको विद्यार्थीहरू छोडेर फर्किंदै गरेको रा १ ख ८७० नम्बरको स्कुल बसलाई ठक्कर दिएपछि भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार यात्रुबाहक बसको ब्रेक फेल भएर अनियन्त्रित बनेको हुनसक्ने प्रहरीको अनुमान छ।

हाल दुबै बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x